नेपाली समाजको मनोविज्ञान र बालेन अवतार

काठमाडाैं । ‘आन्ध्र प्रदेशका मुख्यमन्त्री सरथकुमारको निधन हुन्छ । विदेशबाट उच्च शिक्षा अध्ययन पूरा गरेर भर्खरै स्वदेश आउनुभएका उहाँका छोरा भरत राम (महेश बाबु)लाई मुख्यमन्त्रीमा नियुक्त गर्न सिफारिस पार्टीले अगाडि सार्छ । भारत राम राजनीतिमा नयाँ र अनुभव हिन भएकाले धेरै वरिष्ठ नेताहरुलाई यो कदम चित्त बुझेको हुँदैन | तर संविधान र कानुनसम्मत हिसाबले सिफारिस गरिएको हुनाले उनी आन्ध्र प्रदेशको मुख्यमन्त्री हुन्छन्।

युवा भरत प्रदेशको मुख्यमन्त्री भएपछि उनले भ्रष्टाचार नियन्त्रणमा कडा कदम चाल्छन्। जिम्मेवारी, जवाफदेहिता र नैतिकताको बारेमा शक्तिशाली मन्तव्य अगाडि सार्छन् । उनको शासनशैलीलाई ‘नो ननसेन्स’ भनियो र सरकारी कर्मचारीलाई कडा अनुशासन को निर्देशन दिन्छन् अटेर गर्नेलाई कारबाहीको प्रक्रिया सुरु गर्छन्, जसले गर्दा सेवा प्रवाहलाई चुस्त र दुरुस्त बनाउँछन् |

सुशासनको बहाली गर्छन् । पुराना र शक्तिशाली भनिएका नालायक र भ्रष्ट नेताहरू ले भरतका विरुद्ध अनेकौं षड्यन्त्रहरु गर्छन् तर ती सबै षड्यन्त्रहरुलाई भरतले विफल पारिदिन्छन् । र उनले, १. राम्रो नेतृत्वले प्रणाली परिवर्तन गर्न सक्छ ,२. राजनीति सेवा हो ,सत्ता र शक्ति होइन , ३. अनुशासन , इमान्दारिता र जवाफदेहीताले विकास र परिवर्तन सम्भव छ, भन्ने सन्देश जनतामा दिन सके | सन् २०१८ मा तेलगु भाषामा निर्माण गरिएको “सिएम भरत” चलचित्र जसलाई हिन्दी भाषामा डब गरियो । र धेरै नेपालीहरुले हिन्दी संस्करण को यो चलचित्र हेर्नुभएको छ | यो वा अनिल कपूर अभिनीत चलचित्र “नायक” होस् वा अरु आम हिन्दी चलचित्रहरु हुन्। कुनै दुःखको/संकटको समयमा संकटमोचनका लागि अनेकौं उपायहरुको अवलम्बन गरिरहेको अवस्थामा एकजना नायकको अवतार हुन्छ र नायकले दुनियाले भोगिरहेका सबै समस्याहरुको समाधान गरिदिन्छन् |

हामी नेपालीहरू धेरै यस्ता हिन्दी चलचित्रहरु हेर्छौं र हिन्दी चलचित्रका कथावस्तुहरुबाट धेरै हदसम्म प्रभावित हुन्छौं र हाम्रो मनोविज्ञान पनि त्यही हिसाबले विकास भएको छ । ‘एक समय देवताहरू धेरै कमजोर | भए समाज अस्तव्यस्त भयो। अशान्ति लुटपाट र मच्छ्य न्यायको स्थिति हुँदा देवगणले असुरक्षा महसुस गरे | त्यस्तो अवस्थामा देवगणले भगवान विष्णुसँग सहायता मागे । विष्णुले समुद्र मन्थन गरे | समुद्र मन्थनबाट बहुमूल्य वस्तुहरूका साथमा विष पनि प्राप्त भयो। भगवान शिवले विष पिएर घाँटीमा रोकेर राखे | बहुमूल्य दिव्य/रत्नहरु पनि निस्किए | लक्ष्मी प्रकट भइन्, ऐरावत हात्ती, कौस्तुभ मणि, अप्सराहरू, चन्द्रमा | अन्त्यमा धनन्तरी अमृत लिएर प्रकट भए | विष्णुले मोहिनी रुप धारण गरेर असुरहरुको छल गरिन् र देवताहरुलाई अमृत पान गराइन् | यसपछि समाजमा शान्ति सुव्यवस्था र सन्तुष्टि प्राप्त भयो’ ।

भागवत पुराण र महाभारतमा “समुद्र मन्थन” को नामबाट वर्णित यो प्रसिद्ध कथा नेपाली समाजमा निकै लोकप्रिय छ ।

चाहे वृन्दावनमा भयानक आगलागी (डडेलो) भएर गोप बालक र अरु साथीहरु आतंकित भएको अवस्थामा भगवान कृष्णको अवतार भई डढेलो नियन्त्रण गरेर सबैलाई बचाएको कथा होस् वा कौरवहरुको सभामा द्रौपदीको चिर हरण भएको बेलामा भगवान कृष्णको अवतार भएर उनको लाज बचाएको कुरा होस् अथवा यमुना नदीमा कालीनागको उत्पत्ति भएर सारा प्राणी जगतलाई सखाप पार्न लागेको बेला कृष्णको अवतार भएर सबैको उद्धार गरेको, नागलाई यमुना नदीबाट समुन्द्रतिर धपाएको प्रसङ्ग होस् । हाम्रा समाजमा लोकप्रिय र प्रचलित यस्ता पौराणिक धार्मिक कथाहरू अनेकन छन् जुन हामीले सुरुदेखि नै सुन्दै सुनाउँदै र पढ्दै आएका छौं |

हाम्रा हजुरबा हजुरआमाहरुले सुत्ने बेलामा हामीलाई र हामीले हाम्रा सन्तानहरुलाई सुनाउँदै, अनुशासन सिकाउँदै, नैतिकता सिकाउँदै र संस्कार सिकाउँदै आएका यस्ता अनेकौं धार्मिक पौराणिक कथाहरु हाम्रो समाजमा लोकप्रिय छन् | यसले पनि हाम्रा दुःख कष्टका समयमा कुनै नायक अथवा भगवानको अवतार हुन्छ र हाम्रा सबै दुःख समाप्त हुन्छन् भन्ने मनोविज्ञान हामी हुर्केको समाजले हामीलाई अंकुरित गरेको छ | शिशिर योगीको लोकप्रिय गीत धेरै नेपालीहरूले गुनगुनाउनुहुन्छ “यो देशमा म एउटा मानिस खोजिरहेछु …………..”। वास्तवमा यो सबै कुराले पुष्टि हुन्छ देशमा नागरिकले एउटा नायक अथवा एउटा तिलस्वी पात्र खोजिरहेका छन् जसले समाजलाई उद्धार गर्न सक्छ । देशमा भ्रष्टाचार झाँगिएको छ संस्थागत, नीतिगत, प्रशासनिक या अनेक क्षेत्रमा । भ्रस्टाचारले वास्तबमा नेपाली संस्कृतिको रुप ग्रहण गरिरहेको छ |

जिम्मेवारीमा रहेको मान्छे, उसले भ्रस्टाचार गरेन भने पनि कि आम मानिसले बिस्वास गर्दैनन् कि उसलाई नालायक सम्झन्छन् । भ्रष्‍टाचारी संस्कृतिबाट मुक्त हुन नेपालीलाई एउटा महानायक चाहिएको थियो । सुशासनको संस्कृतिको बहाली गर्न, सेवा प्रवाहलाई चुस्त दुरुस्त र सेवाग्राही मैत्री बनाउन, राजनीतिको सिन्डिकेट तोड्न, (जसमा औंलामा गन्न सकिने शीर्ष नेताहरुले चार दशक आफ्नो मुठीभित्र राजनीतिलाई राखे) राजनीति भनेको पैसा र शक्ति मात्र हो यसले जे पनि गर्न सकिन्छ भन्ने भाष्य निर्माण गर्न खोजियो । राजनीतिबाट प्राप्त हुने जिम्मेवारी केही समयका लागि मात्र हो। त्यसबाट आफ्नो सम्पूर्ण शक्तिका साथ देश र जनताका लागि काम गर्ने हो त्यसपछि स्वतः अवकाश हुने र अर्को पुस्तामा अर्को व्यक्तिमा जिम्मेवारी हस्तान्तरण हुने कुरा राजनीतिक प्रणाली हो भन्ने कुरा नेपालमा स्थापित हुन सकेन ।

एकपटक सत्तामा पुगेपछि जीवनभर सत्तामा रहन अनेकौं तानाबना, षड्यन्त्रहरू, चालहरू रचिरहने र शक्तिमा पुगेर निर्णयहरु गर्दा ‘यो निर्णय गर्न मलाई संवैधानिक र कानुनी हक छ’ भन्ने विषयलाई मात्रै ध्यान दिइने ‘मेरो यो निर्णयले आम जनतामा कस्तो प्रभाव पर्छ, कस्तो प्रतिक्रिया आउला’ भन्ने बारेमा किन्चित नसोच्ने प्रवृत्तिले आजका चार दशक टेक्दै गरेका युवाहरुलाई निराशा तुल्याइरहेको थियो । यो सिन्डिकेट प्रणालीलाई तोड्न पनि नेपाली नागरिकले एउटा जादुमयी व्यक्तित्वको कल्पना गरिरहेका थिए, आवश्यकता महसुस गरिरहेका थिए । आजको पुस्तालाई विकास भनेको भौतिक पूर्वाधारको विकास (बाटोघाटो, बिजुली, टेलिफोन, सिंचाई, खानेपानी, शिक्षा, स्वास्थ्य) मात्र होइन भन्ने बुझ्न समय लागेन ।

आजको पुस्ताले विकास भनेको मानवीय विकास, विभेदको अन्त्य, रोजगारीको प्राप्ति, राज्यबाट उपलब्ध हुने सेवा सर्वसुलभ, सुशासन र निश्चित समयमा राजनीतिक शक्तिको हस्तान्तरण/पुस्तान्तरण जस्ता कुराहरु परिकल्पना गरेका/माग गरेका छन् । त्यसका लागि सामूहिक प्रयत्न, जसमार्फत प्रणालीमा सुधार को सही बाटो हुन सक्छ । तर हामी हुर्किरहेको समाजले संकटबाट मुक्त हुन, अप्ठ्याराहरूसँग जुध्न, समस्याहरु समाधान गर्न कुनै महामानव/नायक/तिलस्मी व्यक्तित्वको खोजी गर्न सिकाएको छ । जसबाट आज बालेन शाह को अवतार राजनीतिमा भएको छ ।

नेपाली समाजले सम्पूर्ण समस्याको अचुक समाधान बालेन्द्र शाहबाट हुने परिकल्पना गरेको छ, हिन्दी चलचित्रमा बताइए जस्तै या हाम्रा धार्मिक पौराणिक कथाहरूले हामीलाई बताए जस्तै । आशा गरौं बालेन शाह, रवि लामिछाने या राष्ट्रिय स्वतन्त्र पार्टी ‘ट्रोजन हर्स’को रुपमा अवतार भएको नभई नेपाली समाज रूपान्तरण कर्ताको रुपमा होस् ।

 
 

Let's talk with us

For app inquiries or assistance, contact our customer service at provided email. Connect with us on social media or call for prompt help.

Location
Tathali