अन्नपुर्ण पोष्टको अनलाईन पोर्टलमा समेत प्रकाशित लेख पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
लेखक : सोम मिश्र ,
मिति २०८२।०५।०९ गते
मार्क्सले व्याख्या गर्नुभएको जस्तो सर्वहारा वर्ग नेपालमा प्राय : छैन ।
'मैले कुनै सिद्धान्तको प्रतिवादन गरेको नभई माक्र्सवादजस्तो वैज्ञानिक सिद्धान्तलाई आफ्नो भूमिमा व्यावहारिक प्रयोग गरेको हो । यसलाई कुनै वादको संज्ञा दिनु उपयुक्त हुँदैन । वाद नै मान्नुपर्ने भए यसलाई बोल्सेविकवाद वा क्रान्तिकारी माक्र्सवाद भन्नु उपयुक्त हुन्छ ।’
– भ्लादिमिर इलिच लेनिन
लेलिनको मृत्युपछि सन् १९२४ मा स्टालिनले एउटा पुस्तक लेख्नुभयो ‘लेनिनवादका आधारहरू’ यसमा माक्र्सवादको विकसित रूप नै लेनिनवाद हो र लेनिनवाद नै क्रान्तिको सुव्यवस्थित सिद्धान्त हो भनेर व्याख्या गरिएको छ । त्यससँगै सोभियत कम्युनिस्ट पार्टीले लेनिनलाई माक्र्सवादको उत्तराधिकारी र उनका विचारलाई लेनिनवाद भनी संस्थागत गर्यो । स्वयं लेनिन उहाँको विचार र सिद्धान्तलाई लेनिनवाद भन्न मन पराउनु हुन्थेन । केवल उहाँ क्रान्तिकारी माक्र्सवाद वा बोल्सेविकवाद भनिनु उपयुक्त हुन्छ भन्ने थियो । उहाँको मृत्युपश्चात् स्टालिनको नेतृत्वमा सो पार्टीले लेनिनवादको विकास र सुव्यवस्थित प्रचार अघि बढायो ।
लेनिनवाद २०औं शताब्दीको बाँकी अवधिभरि विश्वभरिका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि एउटा प्रेरणादायी, ऊर्जाशील र मार्गदर्शक सिद्धान्तको रूपमा मानियो । यसो हुनुमा दुईवटा कारण मुख्य थिए । एउटा थियो, पार्टीभित्रका प्रतिद्वन्द्वीहरूलाई निस्तेज गर्न र आफू लेनिनको सच्चा उत्तराधिकारी साबित गर्न स्टालिनले लेनिनको ज्यादा प्रशंसा गर्दै यसको माध्यमबाट विपक्षहरूलाई किनारा गर्नुपर्ने अवस्था थियो । अर्को कारण थियो, तेस्रो अन्तर्राष्ट्रिय । लेनिनको सफलता र लोकप्रियतासँगै विश्व कम्युनिस्ट आन्दोलनको लोकप्रियतालाई पनि तुलनात्मक रूपमा अघि बढाउन सजिलो र क्रान्तिलाई अघि बढाउन सहज देखेर तेस्रो अन्तर्राष्ट्रियले लेनिनवादलाई सहज स्वीकार गर्यो र कम्युनिस्टहरूका माझमा विश्वव्यापी प्रचार गरियो ।
पछिल्लो समयमा कैयौं क्रान्तिकारी राजनीतिक दलहरूले लेनिनवादी सिद्धान्तबाट अलग हुने र लेनिनका सकारात्मक कामहरूबाट सिक्ने प्रयास पनि गरिरहेका छन् । एक्काइसौं शताब्दीमा विश्व कम्युनिस्ट आन्दोलनको स्वरूप परिवर्तन भएको छ । तत्कालीन सोभियत संघ तथा अन्य केही युरोपेली देशमा समाजवादी व्यवस्थाहरूको पतन, भूमण्डलीकरण, प्रविधिको उच्चतम तथा तीव्र विकास, लोकतान्त्रिक समाजवादको उदय, साम्राज्यवादको बदलिएको रूप जस्ता विषयहरूले लेनिनवादलाई अहिलेको समयमा अप्रासंगिक बनाएका छन् । हामी यहाँ लेनिनवाद के हो र एक्काइसौं शताब्दीमा त्यसको सान्दर्भिकता कस्तो होला भन्ने बारेमा संक्षिप्त चर्चा गर्नेछौं ।
१. अग्रगामी राजनीतिक दल : मजदुर वर्गलाई संगठित गर्न, सचेत गर्न र क्रान्ति सम्पन्न गर्न एउटा अनुशासित संगठित र केन्द्रीकृत क्रान्तिकारी पार्टीको आवश्यकताको कुरा लेनिनवादको मूल कुरा हो । आज मजदुर वर्ग माक्र्सले व्याख्या गर्नुभएको जस्तो अवस्थामा छैन । बुद्धिजीवी, कलमजीवी र उच्च प्रविधियुक्त जनशक्तिहरूको संख्या बढिरहेको छ । आजको मजदुर वर्ग आफैंमा सचेत र ट्रेड युनियनहरूमार्फत संगठित छ । आजको सन्दर्भमा प्रविधिको विकास र सूचनामा आमजनताको पहुँच, इन्टरनेट, सामाजिक सञ्जाल, स्वतन्त्र मिडिया र खुला बहसको संस्कृतिले जनतालाई सचेत बनाएको छ । श्रमिक तथा विद्यार्थीहरू आफैं पनि अवसर हुँदा नेतृत्व गर्न सक्ने अवस्थामा छन् ।
त्यसताका रुसमा भएको जस्तो मजदुर वर्गको ठूलो उपस्थिति हाम्रो समाजमा छैन । जति छन् त्यो पनि दिनदिनै घट्दो क्रममा छन् । हाम्रो देशमा मजदुरको भन्दा किसानहरूको ठूलो संख्या छ । जबकि लेनिनले क्रान्तिमा किसानहरूलाई जोड्न सक्नुभएको थिएन । हामीकहाँ लोकतन्त्र, आवधिक निर्वाचन, संवैधानिक सर्वाेच्चता, बहुलवाद, निर्णयमा सहभागिता र समावेशी सिद्धान्त लोकप्रिय भएको छ । लेनिनवादले यी कुराहरूलाई अस्वीकार गर्छ । लेनिनको केन्द्रीय कमाण्ड, जनवादी केन्द्रीयता, पार्टी अनुशासन, अग्रगामी पार्टी संविधानभन्दा माथि जस्ता विषयहरूले अधिनायकवादी शासनको झल्को जनाउँछ । जबकि हामी त्यस विरुद्ध सात दशक लामो लडाइँ लडिसकेका छौं ।
हरित लगानी, सामाजिक उत्तारदायित्व, वातावरण र सामाजिक न्याय तथा समावेशिता जस्ता कुरामा पुँजीवादले प्रशस्त ध्यान दिएको देखिन्छ। तसर्थ, आजको सन्दर्भमा पुँजीवाद बदलिएको छ र कम्युनिस्ट क्रान्तिकारीहरूले पनि आफ्नो दृष्टिकोणलाई सोहीअनुसार बदल्न आवश्यक छ।
हाम्रो देशमा लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने राजनीतिक पार्टीहरू चाहे नेकपा एमालेको कुरा होस्, चाहे नेकपा माओवादी केन्द्रको । बहुदलीय व्यवस्था, संवैधानिक सर्वोच्चता, आवधिक निर्वाचन, मानवाधिकार, समावेशी लोकतन्त्र र बहुलवादलाई आत्मसात गरेर त्यसलाई आफ्नो आफ्नो नीतिमा समावेश गरेर अघि बढिरहेका छन् । लेनिनवादमा उल्लेख भएको अग्रगामी पार्टी एकदलीय व्यवस्था अथवा एकदलीय तानाशाहीको प्रणाली नै हो । एकदलीयताविरुद्ध नेपालका कम्युनिस्टहरू मूलत : देखिएका छन् । त्यसकारण पनि लेनिनवादको सान्दर्भिकता हामीकहाँ रहेन ।
२. पार्टी निर्माणमा जनवादी केन्द्रीयताको सिद्धान्त : जनवादी केन्द्रीयताको सार, सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारी, व्यक्ति संगठनको मातहत, अल्पमत बहुमतको मातहत, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, सम्पूर्ण कमिटीहरू केन्द्रीय कमिटीको मातहत, केन्द्रीय कमिटी र केन्द्रीय निकाय महाधिवेशन मातहत, महाधिवेशन पार्टी सदस्यहरू मातहत हो । यसमा दुईवटा फरक तर्कहरू छन् । लेनिनवादलाई अस्वीकार गर्ने पार्टीहरूले पनि मूलत : यही विधिमार्फत पार्टी चलाएका हुन्छन् । सबै राजनीतिक पार्टीहरूमा निर्णय हुनुअघि व्यापक छलफल गर्ने र निर्णय भएपछि सबैले निर्णयको पालना गर्ने, अल्पमत बहुमतको मातहत, सामूहिक नेतृत्व व्यक्तिगत जिम्मेवारी, व्यक्ति संगठनको मातहत नै रहन्छन् ।
खासमा यो राजनीतिक पार्टीको हकमा विश्वव्यापी प्रचलन नै हो भन्न सकिन्छ । यसको प्रयोगले लेनिनवादी पार्टीहरूलाई बढी प्रजातन्त्रमुखी भन्दा पनि बढी शक्तिको केन्द्रीकरणमुखी बनाउने गरेको देखिन्छ । त्यसकारण कम्युनिस्ट पार्टीहरूलाई प्रजातन्त्रविरोधी हुन्छन् भन्ने आरोप लाग्ने गरेको छ । यो सिद्धान्तका प्रतिपादक स्टालिनले गर्नु भएको प्रयोगले नेतृत्वको केन्द्रीकरण, बहुलवादलाई अस्वीकार, आन्तरिक लोकतन्त्रलाई कमजोर पार्ने, फरक विचारलाई फुल्न, फक्रिन नदिने काम हो । अझ समाप्त पार्ने आदि कारणले आजको सूचना प्रविधि र बौद्धिक कृतिमताको युगमा यो
सान्दर्भिक देखिँदैन ।
३. साम्राज्यवाद पुँजीवादको उच्चतम रूप : लेनिनको समयमा जस्तो आज पुँजीवाद राष्ट्रिय राज्यको रूपमा सीमित छैन । र, यसले राज्य कब्जा गरेर साम्राज्य विस्तार गर्ने नीति लिएको देखिँदैन । आजको पुँजीवाद बहुराष्ट्रिय कम्पनीहरूको रूपमा अगाडि आएको छ, भौगोलिक सीमामा रोकिएको छैन । यो पुँजीवाद नाफा कमाउने उद्देश्य, सस्तो श्रम, कर छुट तथा कमजोर शासन भएका देशहरूमा आफ्ना व्यवसाय सञ्चालन गर्न उद्दत छ । आजको पुँजीवादको रूप डिजिटल, गैरभौगोलिक, नाफा कमाउने उद्देश्यमा आधारित छ । लेनिनको समयमा पुँजीवादले नवउपनिवेशमार्फत भौगोलिक राष्ट्र राज्य कब्जा गर्ने उद्देश्य थियो ।
तर, आजको पुँजीवादले ऋण साम्राज्यवाद, आईएमएफ, वल्र्ड बैंक, डब्लूटीओ, एफटीए, गुगल, मेटा, सामसुङ, अमेजन, नेस्टल, वाल बचत जस्ता कम्पनीमार्फत काम गर्छ । यसले राष्ट्र कब्जा गरेर साम्राज्य विस्तार गर्ने नीति लिँदैन तर शासनमा नियन्त्रण कायम गर्न खोज्छ । आर्थिक प्रभुत्व कायम गर्न खोज्छ । पुँजीवादले पनि आफ्नो रूप बदलेको छ । यसले कल्याणकारी राज्यको वकालत र कार्यान्वयन गर्न थालेको छ । हरित लगानी, सामाजिक उत्तरदायित्व, वातावरण र सामाजिक न्याय तथा समावेशिता जस्ता कुरामा पुँजीवादले प्रशस्त ध्यान दिएको देखिन्छ । तसर्थ आजको सन्दर्भमा पुँजीवाद बदलिएको छ र कम्युनिस्ट क्रान्तिकारीहरूले पनि आफ्नो दृष्टिकोणलाई सोहीअनुसार बदल्न आवश्यक छ ।
४. सर्वहारा वर्गको अधिनायकत्व : लेनिनले व्याख्या गर्नुभएअनुसार सर्वहारा वर्ग (श्रमिक)ले क्रान्तिमार्फत सत्ता हातमा लिन्छ र आफ्नो अधिनायकत्व स्थापित गर्छ । पुँजीपति वर्गको तथा प्रतिक्रान्तिकारीहरूको दमन गर्छ । र, नयाँ समाजवादी शासनको समाजको निर्माण गर्छ र बिस्तारै यो साम्यवाद (वर्गविहीन समाज)मा रूपान्तरण हुन्छ । आज अधिनायकत्व भन्ने शब्द नै विश्वव्यापी रूपमा अस्वीकृत र तिरस्कृत भएको छ । अधिनायक शब्दले एकदलीयता, विपक्षविहीन, विरोधीको दमन जस्ता कुराहरूलाई प्रतिनिधित्व गर्छ ।
नेपालका कम्युनिस्टहरू लोकतन्त्र, मानवअधिकार, आवधिक निर्वाचन, संवैधानिक सर्वाेच्चता, बहुलवाद जस्ता कुरामा विश्वास गर्छन् । त्यसकारण पनि यो सान्दर्भिक छैन । दोस्रो कुरा सर्वहारा वर्ग अहिले फेरिएको छ । आजको समाजमा मजदुरहरू सबै एउटै वर्गका हुन् भनेर व्याख्या गर्न सकिने अवस्था छैन । अहिले कारखाना मजदुरको सट्टा डिजिटल श्रमिक, ग्राहक सेवा श्रमिक, अस्थायी ज्यालादारी श्रमिक जस्ता प्रवृत्तिको विकास भइरहेको छ र अझै प्रविधिको विकासले वर्क फ्रम हो, ड्राइभ थ्रु सर्भिसेस प्रणालीको विकास हुँदैछ । माक्र्सले व्याख्या गर्नुभए जस्तो सर्वहारा वर्ग नेपालमा प्राय : छैन । यसकारण यो अधिनायकत्वको सिद्धान्त आज स्वीकार्य हुन सक्दैन ।
For app inquiries or assistance, contact our customer service at provided email. Connect with us on social media or call for prompt help.