जेलेन्सकीको उदय, रुसी आक्रमण र युद्धबाट युक्रेनी जनताको सिकाई

सोम मिश्र

मिति : २०८२।०१।२७ गते

काठमाडौँ 

″मेरो घर क्षनभरमै भग्नावशेषमा परिणत भयो | म आफ्ना दुई साना छोराछोरीलाई हातमा समाएर बंकरतिर भागेँ | हामी त्यहाँ तीन हप्ता अँध्यारो र चिसोमा बस्यौँ | न खाना थियो न पानी | मेरो जेठो छोरोले रूँदै भन्यो, 'आमा हामी यहाँ मर्छौ ?' मैले उसलाई हिम्मत दिने प्रयत्न त गरेँ , तर भित्रभित्रै म टुक्रिएकी थिएँ |″ पुर्बी युक्रेन मारिउपोलकी एक आमाको भनाई |

भोलोदिमिर जेलेन्स्की राजनीतिमा प्रवेश गर्नु अघि युक्रेनको चर्चित कलाकार मध्ये एक थिए । उनी एक हास्य कलाकार, अभिनेता एवं निर्माता समेत थिए। उनी २०१५ देखि २०१९ सम्म प्रसारित भएको व्यंग्यात्मक टेलिभिजन श्रृंखला "सर्भेन्ट अफ द पिपल" (Sluga Narodu) नामक हास्य टेलिश्रृखला मुख्य पात्रका रूपमा चर्चित भए। यस टेलिश्रृंखलामा उनले एक माध्यमिक विद्यालयका आदर्शवादी इतिहास शिक्षकको भूमिका निभाए । यसको एक एपिसोडमा कक्षा नौ का विद्यार्थीलाई युक्रेनमा भ्रष्टाचारको नालीबेली र यसको अन्त्यको बारेमा लेक्चर दिनु थियो। उनले यो अभिनय कुशलतापूर्वक गरे । यसले उनलाई रातारात लोकप्रियताको चुलीमा पुर्‍यायो। दशकौंदेखि देशमा देखिएको राजनीतिक अक्षमता र भ्रष्टाचार र कुशासनबाट थाकेका जनतामा यसले गहिरो प्रभाव पार्यो।। यही जनभावनालाई आधार बनाएर जेलेन्स्कीले आफ्नो काल्पनिक टेलिश्रृखलाकाे पात्रलाई वास्तविक राजनीतिक आन्दोलनमा रूपान्तरण गरी राजनितिमा प्रवेश समेत गरे । सन् २०१८ मा उनले "सर्भेन्ट अफ द पिपल" नामकै पार्टी बनाएर राष्ट्रपति पदको उम्मेदवारी घोषणा गरे। उनले भ्रष्टाचार अन्त्य गर्ने, न्याय प्रणाली सुधार गर्ने र पूर्वी युक्रेनमा शान्ति ल्याउने प्रतिबद्धता जनाए। उनले विभिन्न राजनैतिक भाषणहरूमा बारम्बार भनेका थिए, “म राजनीतिज्ञ होइन, म एक सामान्य व्यक्ति हुँ, जसले यो प्रणाली परिवर्तन गर्नआएको हो।” जनताले उनको कुरा पत्याए र २०१९ को राष्ट्रपति चुनावमा जेलेन्स्कीलाई ७३.२% मतले विजयी गराए।

राष्ट्रपति भएपछि उनले संयुक्त राज्य अमेरिका र युरोपेली संघसँग बढ्दो निकटता देखाए। विशेष गरी नेटो र रसियासँगको सम्बन्धका सन्दर्भमा उनका निर्णयहरूले युक्रेन र रसियाबीचको सम्बन्धमा तनाव झनै बढायो। फल स्वरुप सन् २०२२ फेब्रुअरी २४ मा रसियाले युक्रेनमा निर्मम , क्रूर हमला र बर्बर हमला शुरू गर्‍यो। युद्धको प्रारम्भ देखिनै पश्चिमी मुलुकहरूले युक्रेनलाई सैन्य सहायता, हतियार, वित्तीय सहयोग र मानवीय सहयोग तथा जासुसी सूचना पनि प्रदान गरिरहेका थिए । 

समयसँगै अवस्था बिग्रँदै गयो। धेरै पश्चिमी राष्ट्रहरूले बिस्तारै दैनानुदिन सैन्य सहायता कटौती, ढिलासुस्ती एवं आनाकानी गर्न थाले । अमेरिका र युरोपेली संघले आफ्नो सहायताकाे सट्टामा युक्रेनका प्राकृतिक स्रोतहरू जस्तै लिथियम, कोइला र दुर्लभ खनिजहरु प्रति चासो देखाउन थालेका छन्।

केही मिडियाकाे रिपोर्टहरू अनुसार, पश्चिमा कम्पनीहरू युक्रेनको कृषि भूमि र ऊर्जा संरचनामा दीर्घकालीन पहुँचको लागि गुप्त सम्झौता समेत गरिरहेका छन्। यसले युक्रेनमा युद्धको खर्च प्राकृतिक स्रोतहरूको स्वामित्व मार्फत शाेधभर्ना हुदै गएको देखाउँछ। धेरैलाई लाग्छ कि युक्रेन अब केवल युद्ध लड्नका लागि नागरिकहरूकाे जिउज्यान मात्र होइन, आफ्ना भविष्यका बहुमूल्य स्रोतहरु समेत गुमाउन पनि विवश हुन थालेका देखिन्छ ।

आज, युक्रेन गम्भीर मानवीय संकटको सामना गरिरहेको छ। रसियाली आक्रमणले विद्युत उत्पादन केन्द्रहरू ध्वस्त भएकाे छ, जसले युक्रेनी जनतामा भारी बिजुली संकट निम्त्याएको छ। सायाैं विधालयहरू ध्वस्त भएका छन् भने सयौं बालबालिका सहित १०,००० भन्दा बढी नागरिकको ज्यान गुमाईसकेको छ। युक्रेनी सैनिक मृत्युदर ७०,००० नाघेको अनुमान गरिएको छ। विश्व बैंकका अनुसार, युक्रेनको अर्थतन्त्र २०२२ मा मात्र २९%ले घट्यो। ५०% भन्दा बढी ऊर्जासम्बन्धी पूर्वाधार, ३,००० भन्दा बढी शैक्षिक संस्था, सडक, पुल, अस्पताल, र उद्योगहरू ध्वस्त भएका छन्। करोडौं मानिसहरू विस्थापित भएका छन्, जसले जनसांख्यिक संकट समेत निम्त्याएको छ।

सैनिक भर्तीमा कमी हुन नदिन सरकारले कठाेर कदम चाल्दै गएकाे छ। गुप्तचर निकायहरूकाे रिपोर्टहरूमा युद्वकाे लागि आवश्यक जनशक्ति भर्नाकाे लागि युवाहरूलाई घर घरमै छापा मारी जबरजस्ती भर्ती गरिन्छ । एक महिनाको तालिम पछि उनीहरूलाई युद्वकाे अग्रमोर्चामा पठाइन्छ। कुनै युवा समूह त भर्तीबाट बच्न आफ्नै खुट्टा भाँच्ने अभियान नै संचालन गरिरहेका छन्। युवाहरुले यो युद्धलाई “meat grinder” ( मासु पेल्ने मेसिन) को संज्ञा दिएका छन्। “मिट ग्राइन्डर” शब्दले कठोर र निर्दयी युद्ध मिसिनमा फालिएको वास्तविकता झल्काउँछ, जहाँ जीवित रहने ग्यारेन्टी छैन र व्यक्तिगत इच्छा बेवास्ता गरिन्छ। यो एउटा आक्रोशपूर्ण आवाज हो । त्यो जनसंख्या जसले आफूलाई भू-राजनीतिक द्वन्द्व र राज्यद्वारा लादिएको बलिदानबीच फसेको महसुस गरिरहेको छ। यो पक्षले रणनीतिक र आर्थिक चर्चा मात्र नभएर मानवीय आयाम थप्दछ र लामो समयसम्मको युद्धले समाजमा पार्ने मूल्यलाई उजागर गर्दछ।

त्यसबाहेक युद्धको समयमा देशमा मौलाएकाे भ्रष्टाचार एवं कुशासनकाे आरोप समेत बढ्दै गएकाे छ। मानव र पूर्वाधारमा भएको क्षतिको अतिरिक्त, ज़ेलेन्स्कीको नेतृत्वमा भ्रष्टाचार बढेको आरोपले जनआक्रोशलाई झनै चर्काएको छ। केही रिपोर्टहरू अनुसार, जेलेन्स्कीका निकट सहयोगी वा आफन्तहरूले युद्धको बेला समेत महँगो सम्पत्ति, विलासी गाडी र घरहरू खरिद गरिरहेका छन्। पारदर्शिता अभावले जनतामा सरकारप्रतिको विश्वासमा ह्रास आएकाे छ । धेरै युक्रेनी नागरिक र स्वतन्त्र सञ्चारमाध्यमहरूले रक्षा र मानवीय प्रयासका लागि पठाइएका कोषहरू दुरुपयोग वा अपचलन भइरहेको शंका गरेका छन्। यी आरोपहरूले ज़ेलेन्स्की युद्धलाई राष्ट्रिय सार्वभौमिकताको नाममा होइन, तर युद्धकालीन स्रोत र अन्तर्राष्ट्रिय सहयोगबाट लाभ लिनका लागि लम्बाइरहेका छन् भन्ने आलोचनालाई बल मिलेको छ। यी कुराले उनको नेतृत्वमा विश्वासको गहिरो गिरावट ल्याएको छ र उनको प्रारम्भिक सुधारवादी वाचालाई छायाँमा पारेको छ।

रूसी राज्य सञ्चालित सञ्चारमाध्यमका अनुसार सन् २०२५ को मार्च २८ मा मृत सैनिकहरूको शवको विनिमय सम्बन्धी कार्यक्रम भएकाे भयो, जसमा युक्रेनले ४३ जना रूसी सैनिकको शव फिर्ता गर्यो भने रुसले ९०९ जना युक्रेनी सैनिकको शव फिर्ता गर्यो। यो भिन्नताले युक्रेनले युद्धमा चुकाइरहेको असमान मानवीय मूल्यकाे तथ्याकंलाई उजागर गरेकाेछ । हाल सम्म युद्ध अन्त्यको कुनै संकेत नरहेको र देशमा सैन्य शासन जारी रहेको वर्तमान अवस्थामा, चुनाव वा नेतृत्व परिवर्तनको कुनै सम्भावना छैन। ज़ेलेन्स्की अझै सत्तामा छन्, र उनको पार्टीभित्र उनी पश्चातकाे स्पष्ट उत्तराधिकारी समेत देखा परेकाे छैन। धेरै मानिसहरू उनको सन्की व्यवहार र सञ्चारमाध्यममा लाेकप्रियता माेहका कारण रहेको खुलेर आलोचना गर्न डराउँछन्। काेही त यदि उनी बिरूद्व कसैले आवाज उठाएमा आफूलाई ड्यासीङ हिराेकाे रूपमा प्रस्तुत गर्नकाे लागि रुससँग लड्नका लागि विभिन्न देशहरूबाट प्राप्त युद्धसम्बन्धी हतियारहरू आफ्नै जनतालाई दमन गर्न प्रयोग गर्न सक्ने आशंका व्यक्त गरिरहेका छन्।

हालको युक्रेन संकटमा बढ्दो चिन्ताको विषय भनेको देशको सार्वभौमिकतामा आएकाे गिरावट हो। यतिखेर करिब एक तिहाइ भूभाग या त रुसी नियन्त्रणमा छ वा युद्धको लपेटामा परेर क्षतिग्रस्त भएको छ। यदि आजै युद्ध रोकिए पनि, ती क्षेत्रहरूको फिर्ती अब सायदै सम्भव देखिन्छ। भूभाग गुमाउनु बाहेक, युक्रेनको राजनीतिक स्वतन्त्रता समेत अब संकटमा परेको भान हुँदैछ। आज युक्रेनलाई धेरै शक्तिशाली राष्ट्रहरूले रणनीतिक ‘चेस बोर्ड’ को प्यादा जस्तो व्यवहार गर्न थालेका छन्। युद्धविराम र शान्ति वार्ताका महत्वपूर्ण छलफलहरू प्रायः युक्रेनी नेतृत्व विना नै अन्य मुलुकहरूमा भइरहेका छन् । यसले युक्रेनले आफ्नै भविष्यबारे निर्णय गर्ने अधिकार गुमाउँदै गएको संकेत गर्दछ।

राष्ट्रपति  ज़ेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको विवादास्पद भेटवार्ता , युक्रेनको भबिस्यका बारेमा अमेरिका – युरोप , अमेरिका –रुस वार्ता  आदि घटनाले राष्ट्रपति जेलेन्सकी संगै युक्रेनको सार्बभौमसत्ता र यसको उदाउदो भबिस्य समेत संकटमा पर्दै गएको देखिन्छ | ज़ेलेन्स्कीले यो युद्धलाई सार्वभौमिकता र स्वतन्त्रताको लागि भएको भनेर जति नै दाबी गरे पनि, धेरैले प्रश्न गर्न थालेका छन् — जब मुलुकका खनिज, स्रोत र निर्णय शक्ति बाह्य मुलुकहरूको नियन्त्रणमा छ भने, युक्रेन साँच्चिकै स्वतन्त्र छ त? युद्वमा युक्रनको  जितनै भएपनि राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सम्पति तथा खनिज सबै अरूकाे हातमा सुम्पिएर युद्व जित्नुको  के अर्थ ? 

हालै, युक्रेन र अमेरिकाबीच एक महत्वपूर्ण सम्झौता भएको छ, जसले Rare Earth Elements (REE) अर्थात् दुर्लभ खनिज तत्वहरूको अन्वेषण, उत्पादन, र व्यापारमा सहकार्यलाई प्रवर्द्धन गर्छ। यो सम्झौताबाट युक्रेनको युद्धले थलिएको अर्थतन्त्रलाई टेवा पुग्नेछ भने अमेरिका चीनको खनिजमा रहेको निर्भरता घटाउनेतर्फ अग्रसर हुनेछ। युक्रेनमा लिथियम, टाइटेनियम, कोबाल्ट, निकल लगायत अन्य बहुमूल्य खनिजहरू पाइन्छन्, जुन डिजिटल प्रविधि, इलेक्ट्रिक सवारी, र सौर्य ऊर्जा प्रणालीहरूमा अनिवार्य रूपमा प्रयोग हुने गर्छन्। हाल चीनले विश्वको करिब ८०% दुर्लभ खनिज बजारमा नियन्त्रण जमाएको छ, जुन अरु देशहरूका लागि रणनीतिक जोखिम हो। अमेरिका र युरोपेली संघले युक्रेनसँग सहकार्य गरेर स्रोतको विविधिकरण गर्ने र चीनमाथिको निर्भरता घटाउने प्रयास गरेका छन्। यसकालागि युक्रेनमा रहेको दुर्लभ खनिज माथिको स्वामित्व स्थापित गर्न शक्ति राष्ट्रहरु सफल भएका छन् |

रूससँगको युद्ध सुरु हुनु अघि, युक्रेनलाई “युरोपको अन्न भण्डार वा रोटीको डालो ” (Breadbasket of Europe) भनेर चिनिन्थ्यो | युक्रेनले युरोप मात्र नभई मध्यपूर्व र अफ्रिकाका भागहरूलाई समेत खुवाउने गर्थ्यो। यसको उब्जाउ कालो माटो (चर्नोजेम) का कारण, युक्रेन संसारकै सबैभन्दा ठूला गहुँ, मकै, सूर्यमुखी तेल र जौ निर्यातकर्ता देशहरूमध्ये एक थियो। कृषि क्षेत्रले राष्ट्रिय कुल गार्हस्थ उत्पादन (GDP) मा उल्लेखनीय योगदान पुर्‍याएको थियो र लाखौं जनालाई रोजगारी दिएको थियो, जसले युक्रेनको अर्थतन्त्र र अन्तर्राष्ट्रिय पहिचानको मेरुदण्डको रूपमा काम गर्थ्यो।

युद्ध सुरु हुनुअघि युक्रेनले आर्थिक सुधार र आधुनिकिकरणको संकेत देखाउन थालिसकेको थियो। विदेशी लगानी बढ्दो अवस्थामा थियो | पर्यटन फस्टाइरहेको थियो | युक्रेनले पूर्व र पश्चिम दुबै साझेदारहरूसँग आशाजनक व्यापार सम्बन्ध स्थापना गरिरहेको थियो। युक्रेनलाई अद्वितीय सम्भावना भएको एक उदीयमान क्षेत्रीय शक्तिको रूपमा हेरिन्थ्यो। तर युद्धले यी धेरै उपलब्धिहरू उल्ट्याइदिएको छ | कृषियोग्य जमिन तहसनहस भएको छ, निर्यात प्रणाली कमजोर भएको छ, उर्जा केन्द्रहरु तथा महत्वपुर्ण भौतिक पुर्वाधारहरु ध्वस्त पारिएका छन्  र कहिल्यै नभरिने गहिरो घाउ छाडेको छ, जुन कुनै समय समृद्धि र आशाको प्रतीक थियो।

त्यसो त यो युद्धका केहि सकारात्मक पहलु पनि छन् , 'कालो बादल भित्र चाँदीको घेरा' भने जस्तै | युद्धका कारण लाखौँ युक्रेनीहरू आफ्नो मातृभूमिबाट विस्थापित हुन बाध्य भए तापनि, यसले धेरैका लागि अवसरहरूको ढोका पनि खोलेको छ। विशेष गरी युवा पुस्ताले युरोप, उत्तर अमेरिका र अन्य तेस्रो मुलुकहरूमा पुनःस्थापित भएर नयाँ शिक्षा प्रणाली, सीप विकास कार्यक्रमहरू र रोजगारीका अवसरहरूमा पहुँच पाएका छन्। उनीहरूले नयाँ भाषा सिक्दैछन्, फरक कार्यसंस्कृतिमा ढालिँदैछन्, र धेरै अवस्थामा आफ्ना नयाँ बसोबास देशहरूमा आर्थिक योगदान दिँदैछन् भने अर्कोतर्फ स्वदेशमा रहेका आफ्ना परिवारहरूलाई पनि सहयोग गरिरहेका छन्। आफ्नो बुवालाई युक्रेनमै छोडेर पोल्याण्डमा शरण लिइरहेका युवा आन्द्रिया नोन्का ( १५ बर्ष ) भन्छन ″म यहाँ बक्सिङ क्लबमा सामेल भएर नयाँ साथीहरु बनाएको छु , सूचना प्रविधिमा करियर बनाउने लक्ष्य छ , मलाई लाग्छ युद्धका कारण म छिटो परिपक्व भएँ ″ | युद्ध भूमिमै रहेकी अर्की किशोरी मासा भन्छिन ″हामीले हाम्रो दैनिक जिबन , सथिहरुसंगको भेटघाट र सामन्य हिड्डुलको कदर गर्न थालेका छौं″  | 

पहिले आशाको प्रतीक मानिएका भोलोदमिर ज़ेलेन्स्कीको उदय अहिले युक्रेनी जनताले भोगिरहेको गहिरो पीडाको प्रतीक बनेको छ। सामाजिक सञ्जालको लोकप्रियताबाट राष्ट्रिय नेतृत्वमा पुगेको यात्रा अहिले युद्धले ग्रस्त समाज, गुमेको पुस्ता, दुर्लभ खानिमाथिको गुम्दै गरेको स्वामित्व , खुम्चिदै गएको राष्ट्रीय स्वाधिनता र अनिश्चित भविष्यको संकटमा परिणत भएको छ।

अन्त्यमा, बुझ्न जरुरी छ कि प्रत्येक व्यक्ति आफ्नै क्षेत्रमा मात्रै निपूर्ण हुन्छ। अभिनय, पत्रकारिता, वा मनोरञ्जनजस्ता कुनै एक क्षेत्रमा विज्ञ हुनुले कसैलाई स्वतः देशको नेतृत्व गर्न वा जटिल राजनीतिक तथा आर्थिक प्रणालीहरू व्यवस्थापन गर्न योग्य बनाउँदैन। दुर्भाग्यवश आजको युगमा विशेष गरी धेरै विकासोन्मुख देशहरूमा, सामाजिक सञ्जालको लोकप्रियता, लाइक, फलोअर, र भाइरल क्षणहरूका आधारमा नेतृत्व चयन गर्ने प्रवृत्ति बढ्दो छ | यसले खारिएको राजनीतिक अनुभव, जनताको  आवस्यकता पहिचान, छिमेकी मुलुकहरूसँगको \ अन्तराष्ट्रिय सम्बन्ध, कुटनैतिक क्षमता र दूरदृष्टिलाई बेवास्ता गरिरहेको छ। लोकप्रिय भाषण र स्मरणीय संवाद बोकेका करिश्मात्मक सार्वजनिक व्यक्तित्वहरूले जनभावनामा प्रभाव पार्न त सक्छन्, तर त्यो मात्रले कुशल शासन हुन्छ भन्ने सुनिश्चित गर्न सक्दैन। एउटा भनाइ छ , 'सबै मापन बिशेषज्ञ कुशल व्यवस्थापक हुँदैन' किनभने मापन र व्यवस्थापन ( Measurement and Management ) दुई एकदमै पृथक कुराहरू हुन्।

केवल प्रसिद्धि वा प्रदर्शन क्षमताका आधारमा कसैलाई राष्ट्रिय नेतृत्वको जिम्मेवारी सुम्पनु खतरनाक हुन सक्छ | किनभने राजनीतिक सुझबुझ, बुद्धिमत्ता र दीर्घकालीन दृष्टिकोण बिना गरिएका निर्णयहरूले प्रायः जनताको दुःख, अस्थिरता, र अपूरणीय क्षतिको कारण बन्न सक्छ।

Let's talk with us

For app inquiries or assistance, contact our customer service at provided email. Connect with us on social media or call for prompt help.

Location
Tathali